भाग – ८

प्रस्तावित विधान

    सिद्धलेक पर्यटन विकासका लागि थप टेवा मिलोस् भन्नका लागि स्थलगत अध्ययन भ्रमण, वृद्धवृद्धाहरूसँगको भेटवार्ता, किंवदन्ती एवं जनश्रुति र अन्य श्रोतहरूद्वारा यसको यथार्थता, महत्त्व र प्राकृतिक शोभाको बारेमा केही प्रष्ट पार्न मैले यो पुस्तकमार्फत् कोसिस गरेको छु ।

    हालसम्म यसको विधान तयार गरी विधानको आधारमा चल्ने कार्य भने हुन सकेको छैन तसर्थ म यस पर्यटन विकास समितिको सदस्य एवं चासो राख्ने व्यक्तिको हैसियतले विधान निर्माण गर्दा विधानमा समावेस गरिनुपर्ने बुँदाहरूको सानो झलक यस पुस्तकको पानामा देखाई प्रस्ताव गर्न चाहन्छु । यसमा व्यापक सुधार गर्दै विधान निर्माण गर्न सम्पूर्ण पाठकवर्ग एवं बुद्धिजीवी व्यक्तिहरूबाट थप सुझाव प्राप्त भएमा निकट भविष्यमा निर्माण हुने विधान राम्रो र परिष्कृत बन्न सक्ने कुरामा आशावादी हुँदै यो विधानमा समावेश गरिने प्रस्तावित बुँदाहरू उल्लेख गर्न चाहन्छु ।

१. यस समितिको नाम - 'सिद्धलेक पर्यटन विकास समिति नलाङ–सलाङ धादिङ' भन्ने रहने छ ।
२. छाप - गोलो आकारको लोगोमा माथिबाट यसको नाम, तलबाट ठेगाना र बीचमा मन्दिर भई मन्दिर तल पहाडको चित्र जसको दायाँ - बायाँ दुबै छेउमा लालीगुराँसको चित्र रहनेछ ।
३. उद्देश्य - पर्यटन विकास क्षेत्रको प्रगति एवं विकासका निमित्त समाजका सबै पक्षलाई पूर्णरूपमा आकर्षित गर्दै धार्मिक आस्था अभिवृद्धि गराई सिद्धलेकको ख्याति बढाउने ।
४. सदस्यता - यसको सदस्यता ३ प्रकारका हुनेछन् ।

क)  आस्थावान् सदस्य:-

    सिद्धबाबा एवं सिद्धलेकको पर्यटन विकासलाई सकारात्मक र गौरवका दृष्टिले हेर्ने जो सुकै स्वदेशी तथा विदेशी सज्जन नरनारी यसको आस्थावान् सदस्य हुन सक्नेछन् ।

ख)  शीलवान् सदस्य:-

    यस सिद्धलेक पर्यटन विकास कार्य र सिद्धबाबाप्रति आस्था राख्ने सज्जन नेपालीहरूका हकमा वार्षिक रु. ५/- र विदेशीहरूको हकमा रु.५००/– गौरवका लागि चन्दा बुझाई सदस्यता ग्रहण गर्न सक्नेछन् र शीलवान् सदस्यहरूलाई यस क्षेत्रको विकास, निर्माण, पूजा, अर्चना, प्रचार, प्रसार र सेवा सहयोग कार्यमा सहभागी रहने अवसर प्राप्त गर्ने र पर्यटकलाई मार्ग निर्देशन गर्ने काममा प्राथमिकता पाउने छन् । 

 ग) निष्ठावान् सदस्य :-

सिद्धबाबा तथा सिद्धलेक पर्यटन विकास कार्यप्रति अत्यन्त अभिरुचि एवं आस्थायुक्त जोसुकै नलाङी र सलाङी महिला तथा पुरुषले वार्षिक रु. १५/– र नलाङ सलाङ गा.वि.स.सँग सिमाना जोडिएका गा.वि.स.का नरनारीका हकमा रु. ५०/– र धादिङ जिल्लाभरका नरनारीका लागि रु. १,५०० /– त्यस्तै अन्य नेपालीहरूका लागि रु.१२,००० /– बुझाई निष्ठावान् सदस्यता प्राप्त गर्न सक्नेछन् । निष्ठावान् सदस्यहरूले मात्र यस पर्यटक विकास समितिका विभिन्न इकाइ वा मूल समितिमा रहन वा मतदान गर्न सक्नेछन् ।

५. सदस्यता नवीकरण र वितरण:-

क) प्रत्येक वर्षको चैत्र मसान्त भित्रमा सदस्यता नवीकरण ‘कार्यसामतिले’ गराइसक्नेछ ।
ख) निष्ठावान् सदस्यता प्राप्त गर्न निम्न योग्यता पुगेका व्यक्तिले मात्र सक्नेछन् ।

१. नेपाली नागरिकता प्राप्त गरेको ।
२. साक्षर भएको
३. मगज नबिग्रेको
४. फौजदारी मुद्दामा अदालती सजाय नपाएको ।
५. नैतिक पतन नभएको ।
६. ८० वर्ष उमेर ननाघेको ।

६. निर्वाचन र गठन :-

क) यस पर्यटन विकास समिति गठन गर्ने प्रयोजनका लागि निम्न निर्वाचन क्षेत्र तोकिनेछन् ।
१. नलाङ गा.वि.स. निर्वाचन क्षेत्र ।
२. सलाङ गा.वि.स. निर्वाचन क्षेत्र ।
३. नलाङ र सलाङ सिमाना गा.वि.स. क्षेत्र ।
४. धादिङ जिल्लाका अन्य गा.वि.स. निर्वाचन क्षेत्र ।
५. नेपाल निर्वाचन क्षेत्र ।

ख) प्रत्येक निर्वाचन क्षेत्रमा १०० जना वा सोभन्दा बढी निष्ठावान् सदस्य संख्या भएमा १५ जना, ५० जनासम्म भएमा ५ जना प्रतिनिधि र ५० भन्दा कम भएमा ३ जनाका दरले सम्पूर्ण निर्वाचन क्षेत्रबाट छनौट गरी पठाएका सम्पूर्ण प्रतिनिधिहरू त्यस क्षेत्रको विकास निर्माणका कार्य गर्न अधिकार प्राप्त 'उपभोक्ता समूह' रहने छन् । उपभोक्ता समूहका सदस्य अथवा पदाधिकारीहरू मध्येबाट निर्वाचन गरी बढीमा १५ जनासम्मको 'सिद्धलेक पर्यटन विकास समिति नलाङ–सलाङ' गठन गरिनेछ ।

ग) उपभोक्ता समूहमध्येबाट विभिन्न–कार्यका लागि सहयोग प्राप्त हुने भएमा योजना सम्झौता, कार्य–निर्देशन, रेखदेख र रकम फर्छ्यौट जस्ता कार्य गर्न विधिवत् उपभोक्ता समिति, धार्मिक अनुष्ठान समिति, निर्माण समिति, लेखापरीक्षण समिति, अनुगमन समिति, कार्यमूल्याङ्कन समिति, शिक्षा समिति र न्यायिक समिति आदि आवश्यकतानुसार गठन गर्न सकिनेछ ।

घ) प्रत्येक निर्वाचन क्षेत्रबाट आएका क्षेत्रीय समितिहरूद्वारा आ–आफ्नो क्षेत्रमा विभिन्न इलाका बनाई आवश्यकतानुसार इलाका समिति र टोल समिति गठन गरी कार्यसञ्चालन गर्न सक्नेछन् ।

ङ) प्रत्येक समतिले आ–आफ्नो प्रतिवेदन पर्यटन विकास समितिमा पेश गर्नेछन् ।

च) प्रत्येक वर्ष बैशाखमा साधारणसभा बोलाई सम्पूर्ण आय–व्यय सुनाउने र वार्षिक कार्यक्रम, विधान संशोधन आदि कार्य गरिनेछ ।

७. काम, कर्तव्य, अधिकार र उत्तरदायित्व :-


    क– उल्लिखित टोल, इलाका, क्षेत्रीय, उपभोक्ता, निर्माण, एवं अन्य समितिहरू पर्यटन विकास समिति नलाङ–सलाङसँग उत्तरदायी रहँदै मूलसमितिको निर्णयअनुसार आ–आफ्नो कार्य नियमित र स्वतन्त्र ढङ्गले गर्न सक्नेछन् ।
    ख– प्रत्येक समितिमा प्रचलित नियमअनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूको कर्तव्य र अधिकार रहनेछ ।
    ग– विकास निर्माण र अन्य काम पर्यटन विकास समितिको निर्णयानुसार विनियोजित रकम योजना र कार्यक्रमका आधारमा विभिन्न समितिले स्वतःस्फूर्त र स्वतन्त्र ढंगले गरी सम्पूर्ण विवरण पर्यटन विकास समितिमा पेश गर्नुपर्नेछ ।
    घ– सम्पूर्ण गठित समिति उपसमितिहरूको कार्ययोजना, कार्यनिर्देशन, कार्यमूल्याङ्कन, अनुगमन, कारवाही, पुरस्कार आदि काम गर्ने र चौतर्फी विकास कार्य पर्यटन विकास समितिको रहनेछ ।

८. पदावधि र पदपूर्तिको व्यवस्था :-

    क) उल्लिखित सम्पूर्ण समितिहरूको पदावधि सामान्यतयाः ३ वर्षको रहनेछ तर उपभोक्ता समूहको २ तिहाई बहुमतले अविश्वासको निर्णय गरेमा पर्यटन विकास समिति विघटन हुनेछ ।

    ख) पर्यटन विकास समितिले उपभोक्ता समूहबाहेक अन्य समितिहरूलाई उसको काम हेरी निलम्बन गर्न र उपभोक्ता समूहलाई पुनर्गठन गर्न निर्देशन दिई हेरफेर गर्न सक्नेछ ।
उपभोक्ता समूहले वा अन्य समिति, उप–समिति वा त्यस समितिका व्यक्तिले तोकेअनुसार काम गर्न नसकेमा वा कार्यमा सङ्कट पैदा भएमा पर्यटन विकास समितिको २ तिहाई बहुमतले उपभोक्ता समूह वा अन्य समिति र उपसमिति र त्यसका सदस्य व्यक्तिहरूलाई विघटन गराई सम्पूर्ण निष्ठावान् सदस्यहरू मध्येबाट नयाँ उपभोक्ता समूह गठन गरी पठाउन सूचना प्रकाशित गर्न सक्नेछ ।

९.भत्ताको व्यवस्था :-

    पर्यटन विकास समितिको निर्णय अनुसार  पर्यटन विकास समिति र अन्य समितिहरूको बैठक–भत्ता र खाजा–भत्ता तोकी प्रदान गर्न सक्नेछ ।

१०.कोषको व्यवस्था :-

    प्रत्येक शीलवान् र निष्ठावान् सदस्यताबाट प्राप्त रकम विभिन्न व्यक्ति, संघ–संस्था, सरकारी र गैरसरकारी संघ–संस्थाको सहयोग, चन्दा, भेटी, पर्यटकको दान, सहयोग र यस क्षेत्रबाट उत्पादित वस्तुहरू यस कोषको सम्पति रहने छ ।

११.बैठक :-

    पर्यटन विकास समितिको बैठक कम्तीमा २ महिनामा र अन्य समितिको बैठक कम्तीमा ४ महिनामा बस्नेछ । प्रत्येक समितिमा आवश्यकता अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरूको व्यवस्था हुनेछ ।

१२.कोष खर्चको प्राथमिकता :-

    समितिको आफ्नो कोष रहने छ । कोषको रकम समितिको बहुमतको निर्णय अनुसार निम्न प्राथमिकताका आधारमा तहगत रूपमा खर्च गर्न सकिनेछ ।
१– पर्यटन विकास क्षेत्र निर्माण तथा मर्मत, सुधार कार्य– ४०%
२– नलाङ–सलाङ गा.वि.स. अन्तर्गत सुधार कार्य– ४०%
३– भत्ता, मसलन्द, वाह्य सुधार र विविध– २०%

१३. ऋण लगानी :-

    क. कुनै व्यक्ति वा संघ–संस्थाले दिएको चन्दा वा अन्य रकम वा कोषको सम्पत्ति प्राप्त भएको १ महिनाभित्र कोषमा दाखिला नभएमा शुरुको मितिदेखि ऋण मानी व्यक्तिले कोषमा व्याज बुझाउनु पर्नेछ ।
    ख. कुनै कार्यको योजना नहुन्जेल (बढीमा तीन महिनासम्म) पर्यटन विकास समिति जिम्मेवार रहनेगरी व्यक्तिलाई चलनचल्तीको व्याजमा ऋण लगानी गर्न सक्नेछ ।
    ग. कोषको रकम वा सम्पत्ति समितिको नामको बैंक खातामा जम्मा गर्नुपर्नेछ, कोषमा आम्दानी भएको १५ दिनभित्र बैंक दाखिला नभएमा अनियमितता मानिने छ ।

-- समाप्त -

Comments

Popular posts from this blog

भाग – २

भाग–३

भाग – ५