भाग – २
सिद्धलेकको ऐतिहासिक र प्राकृतिक महत्त्व एवं परिचय
क) स्थान
वाग्मती अञ्चल धादिङ जिल्ला नलाङ र सलाङ दुई गा.वि.स. को सिमानामा पर्ने सिद्धलेक महाभारतीय पहाडी शृङ्खलाको अति उच्च हिउँविहीन चुचुरो हो । यसलाई पृथ्वी राजमार्गको मलेखु, सलाङघाट, बेनीघाट र त्यस वरपरका सस्पूर्ण क्षेत्रबाट देख्न र हेर्न सकिन्छ । यो लेक धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले अत्यन्त मनोरम स्थल हो ।
ख) सिमाना
यो लेक नलाङ र सलाङ गा.वि.स. को बीचमा सिमानाको काम गर्ने भए पनि नलाङ तर्फका वडा नं. १, वडा नं. २ ले छोएका छन् भने सलाङतर्फका वडा नं. १, ४, ७ र ८ ले छोएका छन् । तैपनि नलाङ र सलाङ दुवै गा.वि.स.को शिरको रूपमा देखिने यो लेकको फेदीतर्फ हेर्दा पूर्वमा थोपलखोला अर्थात् कुम्पुर र सुनौलाबजार गा.वि.स.हरू, पश्चिममा बूढीगण्डकी अथवा गोर्खा जिल्लाको भुङ्लीचोक र घ्याल्चोक गा.वि.स.हरू, उत्तरतर्फ च्याँडु र ग्याल्मा खोला अथवा मैदी, ढोला र मुरलीभञ्ज्याङ गा.वि.स.हरू र दक्षिणतर्फ त्रिशूलीनदी अथवा बेनीघाट गा.वि.स.ले सिमानाको काम गर्दछन् ।
ग) भौगोलिक बनावट र दृश्य
यो लेक अत्यन्त कडा चट्टान, भीर पहरा, र अरू पहाडी शृङ्खला र मैदान वा पट्यान भूमि मिलेर बनेको छ । यस क्षेत्रमा विभिन्न प्रकारका धार्मिक एवं प्राकृतिक महत्त्वका गुफाहरू छन् । उत्तर–दक्षिण फैलिएर आफ्ना चारैतिर विभिन्न रूपका डाँडाहरू छोड्दै नलाङ र सलाङ दुवै गा.वि.स.लाई काखी च्यापेर रहेको यो लेकमा नानाथरी रुखपात, जडिबुटी, चराचुरुङ्गी, जीव–जनावर, जात–जाति भेषभूषा र संस्कृति, विभिन्न घाँटी र भञ्ज्याङ, ढेवालेक र त्यसको मैदान, अनेक खानीहरू, देवदेवीका मन्दिरहरूले झनै सौन्दर्य थपेका छन् । सूर्यको पहिलो किरणदेखि पछिल्लो किरणसम्म भेट्नसक्ने यो लेकमा जानका लागि निम्नलिखित आठवटा नाकाहरू प्रख्यात छन् ।
१. मलेखु, फिसफिसेटार, गौँथले, आरुबास र कुटीडाँडा हुँदै–
२. मलेखु, बुङचुङ, फाकफुक र शाहीडाँडा हुँदै –
३. बैरेनी, अर्चले, ठाँटीभञ्ज्याङ, खिर्रे र पात्ले हुँदै –
४. धादिङबेसी, ससाहटार, दोभानचौतारा, ठाँटीभञ्ज्याङ हुँदै–
५. मैदी, अमराईं, खिर्रे र पात्ले हुँदै–
६. गोर्खा, दर्बुङफाँट, झर्लाङ्दी र आमकोट हुँदै–
७. बेनीघाट, कल्लेरी, कोत्लेभञ्ज्याङ र जन्तीढुङ्गा हुँदै–
८. सलाङघाट, भेडाबारी, चीलडाँडा र स्यालभञ्ज्याङ हुँदै–
समुद्री सतहदेखि करीब १५४० मिटर उचाइमा रहेको यस लेकबाट अन्यत्रको दृश्यावलोकन गर्न जो सुकैलाई पनि उत्सुकता हुनु स्वभाविक हुन जान्छ किनकि यो डाँडाको धार्मिक, ऐतिहासिक र प्राकृतिक महिमा यही गगनचुम्बी धुरीबाट त्रिशूली नदी एवं पृथ्वी राजमार्गको सौन्दर्यपूर्ण दृष्य साँच्चै नै अति आकर्षक देखिन्छ । त्यस्तै नेपालमा उत्तरी भेगमा रहेका चाँदी-जिभ्रा हिमालका पवित्र र कान्तिमय अनुहारको मनोहरता पनि यही शिखरबाट देख्न सकिन्छ । काठमाडौँको ऐतिहासिक स्तम्भ धरहरा पनि यो चुलीबाट नै अवलोकन गर्न सकिन्छ । धादिङ जिल्लाका ५० गा.वि.स. हरू मध्ये सल्यानटार गा.वि.स. बाहेक अन्य ४९ गा.वि.स.हरू यही चुलीबाट देख्न सकिन्छ । काठमाडौँ, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, लमजुङ्ग, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकजस्ता १ दर्जनभन्दा बढी जिल्लाहरूको दृष्य यसले देखाउँछ । यस भेगका लालीगुराँस आदि बोटविरुवा र दिउँसै तारा देखिने खालका घना जङ्गलहरूको राम्रो पहिचान एवं अरू पशुपन्छीको क्रीडा पनि यही धुरीले देखाउँछ ।
घ) हावापानी, वनस्पति र जडीबुटीहरू
शीतल एवं चीसो हावापानी भएको यस क्षेत्रको दक्षिणी पाखामा भने हिमालयबाट कोल्टो पर्दा न्यानो र तातो महसुस हुन्छ । विभिन्न हिमालयबाट सिधा देखिने हुनाले हिमाली हावा सिधै प्राप्त हुन्छ र सधैँ शीतल हुन्छ । उच्च शिखर भएको कारण पिउने पानीको भने यहाँ अभाव छ । यो भेक लालीगुराँस, चिलाउने, मलेदो, फलेदो, टिम्मुर, काफल, रातोपाते, काइँयो, लालीकाठ, कटुस, मुसुरेकटुस, बाचकटुस, दमैगजा, दार, काउला, लाँकुरी, तिँदू, अँगेर , झिँगानु, साल र सल्ला जस्ता धेरै रुखका समूहहरूद्धारा शोभायमान छ । यहाँ दिउँसै घुम्दा पनि दिनको उज्यालो छेकेर शीतल चाँदनी जङ्गलमा घुमिरहेको भान हुन्छ । यहाँ नानाथरी जडीबुटीहरू छन् । जसमा हर्चुरो, कालोऐँसेलु, पानीअमला, चिराइतो, फुरुरु, सौर, छेपारो, गाइखुर, कुथुर्के, खस्र्यौटो र काफल जस्ता बत्तिसा बन्ने बिरुवाहरू छन् । त्यसैगरी टिमुर, लालीगुराँस, सिलटिमुर, चिलाउने, कुरिलो, सुनगाभा, भकिअमिलो, रुखबोडी, गुर्जो, गुज्जरगानो, रानीसिन्का, बाटुलोपाते, कुमकुम धुपजस्ता अनेकौँ जडिबुटीहरू (अनेक रोगको निमित्त काम लाग्ने) छन् । त्यस्ता महत्त्वपूर्ण औषधीयुक्त वनस्पतिहरू यो लेकमा पर्याप्त पाइन्छ । अन्वेषण हुनमात्र बाँकी छ । त्यसैगरी उल्लिखित रुखपातमध्ये लालीगुराँस यो देशको महिमायुक्त फूल हो र दार भन्ने काठबाट सर्वोत्तम ठेका–भाँडा बनाइन्छन् । मसुरे कटुसबाट नामी मसी बनाउन सकिन्छ । अन्य बुट्यान तथा झारपात वनस्पतिहरू पनि यस स्थानमा प्रशस्त पाइन्छन् । उन्यूँ, एक्सरे–उन्यूँ चाँगाको कपडा बुन्ने धनु-टिमामा लगाइन्छ । बाँस र निगाला दुबै डोका–डाला, थुन्से आदि चित्राको सामान निर्माणमा प्रायोग हुन्छन् । बिलाउने, जुरेलीकाँडा, भोटेऐँसेलु, सिस्नुजस्ता बोटबिरुवा र औषधीजन्य कुराहरू यहाँ मनग्य पाइन्छ ।
ङ) गुफा, शिवलिङ्ग र वरपरका महत्त्वपूर्ण स्थानहरू
सिद्धबाबाको मन्दिरबाट करिब १०० मिटर तल दक्षिणतर्फ भीरमा शिवगुफा, पात्लेदेवीस्थानमा देवीगुफा र पात्ले भुङ्कोसेमा साना ठूला दर्जनौँ गुफाहरू छन् । त्यस वरपर अझै अरू गुफाहरू भेटिने अनुमान छ । शिवगुफाभन्दा तल रहेको शिवलिङ्ग र हाल पूजा गर्ने मन्दिरको शिवलिङ्ग दुवै महत्त्वपूर्ण छन् । तलको शिवलिङ्गको टुप्पोमा नाइटो जस्तो खण्ड काटिएकाले त्यहाँका केही मानिसहरू अश्लिलता छोप्न हो कि किन हो त्यस लिङ्गलाई ‘नाइटेढुंगा’ पनि भन्ने गर्दछन् । त्यसैगरी सिद्धलेक वरपरका अन्य प्रख्यात स्थानहरूमा कुटीडाँडा, समरादेवी, गणेशस्थान, देवीस्थान, मनकामनादेवी, अक्कलादेवी, फालहान्नेढुंगा, राम्चेडाँडा, बाजभञ्ज्याङ (पहिला त्यस भञ्ज्याङमा बाजले मृग समाई मारेको) साना खोपेढुंगाहरू, खीर खाने भञ्ज्याङ (खीरभञ्ज्याङ) आदि महत्त्वपूर्ण स्थान तथा मन्दिर आदि हुन् । झाँक्रीदहमा दिउँसै झाँक्री बसेको पहिले पहिलेका मानिसहरू भेट्ने गर्दथे ।
च) जीव जनावर (वन्यजन्तु) र चराचुरुङ्गी
सिद्धलेकको वन घनाजङ्गल भएकोले र गाउँको नजिकको भएकाले बाघ, चितुवा, निगाले, कल्मुखो, स्याल, फ्याउरो, मृग (दारे र मुडुल्लो वा भाले र पोथी) बाँदर, बँदेल जस्ता जनावरहरूका साथै चराचुरुङ्गीहरूमा हुईंचील, मयूर, कुर्लेढुकुरका साथै तम्मे ढुकुर, सिकारीचरा (बाज) तित्रा, बट्टाई, कोकले, कालिज र लुईंचेजस्ता धेरै प्रजातिका चराहरू पाइन्छन् । यी पशुपन्छीहरूको संरक्षणका लागि सिकार रोक्नुपर्ने हुन्छ र हाल रोकिएको पनि छ ।
छ) भौगर्भिक वस्तुहरू
यस क्षेत्रमा पहिले ताँबोखानी थियो र गरम छापका लोहारहरू त्यहीको ताँबोद्वारा भाँडा बनाउने गर्दथे । हाल पनि ताँबाका धाउ (कीट) का थुप्रा भने भेटिन्छन् भनी त्यस भेगका बूढापाकाहरू भन्ने गर्छन् । त्यसैगरी स्लेट खानी हालसम्म पनि छ । गत बर्षदेखि सिद्ध मन्दिरको सुन्दरतामा आँच पुग्ने देखी खानी बन्द गरिएको कुरा निवर्तमान नलाङ गा.वि.स. उपाध्यक्ष श्री कमल गुरुङ बताउनुहुन्छ । सिद्धलेक पाखामा ‘पहेँलोपानी’ नामले प्रसिद्ध एक पानीको मूल छ जसबाट पहेँलो, बाक्लो र रेसादार देखिने पानी निस्कन्छ । जसबाट स्थानीय व्यक्तिहरू त्यस माथिको पहराभित्र सुनखानी हुनुपर्ने अड्कल गर्दछन् ।
Comments
Post a Comment