भाग – ४
सिद्धलेक पर्यटन विकास क्षेत्र निर्माणका आधार, आवश्यकता र अनिवार्यता
सिद्धलेकलाई पर्यटन विकास क्षेत्र बनाई यसको शोभाको औचित्य प्रदान गर्न केही वर्ष अघिदेखि केही व्यक्तिहरूद्वारा कल्पना भई सिद्धलेक पर्यटन विकास समिति नलाङ र सलाङ नामक संस्था स्थापना गरेर नलाङ र सलाङ गा.वि.स. दुवैमा निर्णय भई जि.वि.स. धादिङले समेत ३ पटक ३०+२०+२० = ७० हजार आर्थिक सहयोग गरिसकेको, स्थानीय गा.वि.स. नलाङ र सलाङ समेतले केही लगानी लगाइसकेको र श्री मेघराज नहर्कीबाट रु.१५,०००/- र स्थानीय बासिन्दाहरूद्वारा ठूलो भौतिक सहयोग हुँदै आएको छ । यो सिद्धलेकलाई पर्यटन क्षेत्र बनाउने आधारहरू पर्याप्त छन् । तिनीहरूलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गरिएको छ ।
१. रमणीय स्थानमा रहेको सिद्धबाबाको मन्दिर
धार्मिक दृष्टिले आदिदेव श्री सिद्धेश्वर महादेवको मूर्ति त्यस ठाउँमा भइदिनाले नित्य पूजा–अर्चनाका लागि मानिसहरू गइरहन्छन् । यसको प्रचार–प्रसारलाई व्यापक बनाउन सके धार्मिक दृष्टिले पनि यहाँ प्रशस्त स्वदेशी र विदेशी पर्यटकहरू आउंँछन् । त्यस्तै वरपरका देवीस्थान, कालिकास्थान, कालीदेवी, समरादेवी, अक्कलादेवी, भूमेस्थान, गणेशस्थान, आमकोटकी रेवतीदेवी, चतुरामाई, बलदेवी लगायतका कैयौँ देवी–देवता पूजिँदै आएका कारण यो धार्मिक भूमि मानिन्छ । यी मन्दिरहरूको निर्माण आकर्षक ढुङ्गाबाट हुन सके, आवतजावतका लागि बाटाघाटाहरू बन्न सके, सर–सफाइ थपिन सके, नित्यपूजाको व्यवस्था हुन सके, भक्तजनहरूलाई बासको व्यवस्था हुन सके वा पाटीपौवा तथा विश्रामस्थल निर्माण गर्न र पानीको व्यवस्था मिलाउन सके पर्यटन विकासमा यसले ठूलो मद्दत पुग्ने विश्वास गर्न सकिन्छ ।
२. प्राकृतिक दृष्टिले सुरम्य उच्च पहाडी शृङ्खला :
महाभारत पर्वत अन्तर्गत पर्ने १५०० मिटरभन्दा बढी उचाइ भएको उच्च हिमविहीन पहाडी शृङ्खला एवं सुरम्य चुचुरो जसबाट नेपालका ७५ जिल्ला मध्येका १२ वटाभन्दा बढी जिल्लाहरू, धादिङ जिल्लाको ५० वटा गा.वि.स.हरूमध्ये ४९ वटा गा.वि.स.हरू र गणेश हिमाल, श्यामकर्ण हिमाल, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, चारपाटे हिमाल आदि जस्ता दर्जनौ विश्व चर्चित सुन्दर हिमालहरू देखिने खुला र उच्च पहाड हुनाले धार्मिक आस्था नहुनेहरू र सिद्धबाबा लगायतका देवदेवी नपुज्नेहरूसमेतलाई यस मनोरम दृष्यले लोभ्याउँछ । तसर्थ यसको उचाइ र सुन्दरता पर्यटन विकासको महत्त्वपूर्ण आधार हो ।
३. लालीगुराँस लगायतका जङ्गल र जडीबुटीहरू
राष्ट्रिय फूल, लालीगुराँस नेपालको दुर्लभ औषधीयुक्त सुन्दर फूल हो । यो फूल र यसको बोट देख्न र हेर्न धेरैलाई लोभ लाग्छ । यस्तो फूलले ढकमक्क ढाकिएको वसन्त हेर्न कसलाई मन पर्दैन र ? यसका अतिरिक्त काफल, कालीकाठ, चिलाउने, दमैगजा, कटुस, तिँदू, मलेदो, बाँचकटुस, काउला, झिँगानु, अँगेर, लाँकुरी, मुसुरेकटुस, फलेदो, साल, दार, जुरेलीकाँडा, सल्ला, बाँस र निगाला जस्ता कैयौँ जातका रुखहरू, ऐँसेलु, प्याउली, बिलाउने, भैसेकाँडा, भोटेऐंसेलु, टिमुर आदि बुट्यान रुखबिरुवाहरू र कुमकुम धूप, कुरिलो, गुर्जो, गुज्जरगानो, भकिअमिलो, सुनगाभा, रुखबोड़ी, चिराइतो, उन्यूँ, हर्चुरो, फुरुरु, सौर, गाईखुर, छेपारी, कुथुर्के, खस्र्यौटो, रातोऔषधी, एक्सरे उन्यूँ, हाडेउन्यूँ, बाटुलोपाते (बादलपाते), रानीसिन्का जस्ता झार, –लहरा, बुट्यान र रुखका आरोग्य औषधी एवं जडीबुटीहरू समेतले ढकमक्क ढाकिएर विभिन्न प्रकारका बुकी, वासन्ती आदि फूलका मगमग बास्ना चल्ने अत्यन्त ठूलो र बाक्लो जङ्गल रहेको छ । त्यस जङ्गलभित्रबाट दिउँसै तारा देखिन्छ । जङ्गलभित्र रहने बाघ, भालु, चितुवा, मृग, स्याल, फ्याउरो, बँदेल, बादर आदि जनावरहरू र सिद्धगुफाबाट दिनदिनै निस्कने विविध नौरङ्गीं चराहरू हुईंचील, लुइँचे, कालिज, बाज, बट्टाई, तित्रा, जुरेली, कोकले, तम्मे र कुर्ले ढुकुरहरू जस्ता चराहरूले सुशोभित यो जङ्गल साँच्चै पर्यटकीय क्षेत्र निर्माण हुने अर्को आधार मान्न सकिन्छ ।
४. ढेवा लेकको थप आकर्षण
सिद्धलेक र ढेवालेक एउटै डाँडो हो । तैपनि बीचमा एउटा भञ्ज्याङले छुट्याएको छ । सिद्धलेकभन्दा ढेवालेक झण्डै २०/३० मिटर अग्लो सुन्दर डाँडो छ । यस लेकमा पहिले पैसा पाइने हुनाले यस भेगका नेवारजातिले आफ्नो भाषाअनुसार पैसा पाइने डाँडाको नाम ढेवाको लेक भनेर राखे । यो ढेवाको लेकको माथि धुरीमा (चुलीमा) फराकिलो छ, पट्यान पनि छ । जसमा भविष्यमा हेलीप्याड (हवाइमैदान), बजार व्यवस्थापन, पार्किङ स्थल, बागबगैँचा, फुटबल खेल–मैदान जस्ता कुरा निर्माण गर्न पनि सम्भव हुनसक्छ । त्यस्तै अन्य पर्यटकीय पूर्वाधारका कार्य गर्न आवश्यक पर्ने जमीन यो लेकमा भरपुर मात्रामा छ । यहाँको सुन्दरता पनि अत्यन्त आकर्षक भएकोले यसलाई पनि पर्यटन विकासको अर्को आधार मान्न सकिन्छ ।
५. अन्य आधार
सिद्धबाबाको मन्दिर, शिवलिङ्ग, गुफाहरू, सर्वत्रको दृष्य देखिने, उच्च पहाडी चुचुरो, लालीगुराँस आदि फूलहरूले ढाक्दा वा छोप्दा दिउँसै तारा देखिने जङ्गल, हेर्नलायक भीर पहरा र अनेकौँ आरोग्य जडीबुटीहरू एवं अन्य बास्नादार फूलहरूले गर्दा यसलाई पर्यटन क्षेत्र बनाउने महत्त्वपूर्ण आधार मान्न सकिन्छ । पृथ्वीराजमार्ग, त्रिशूलीनदी आदिको दृश्य र अन्य लाखौँ देवदेवीका मन्दिरहरू, झाँक्रीदह, भुङ्कोसेगुफा, दुङ्दुङे आदिका साथै यातायाततर्फ पक्की सडक पृथ्वीराजमार्ग नजिकै हुनुका साथै कच्ची सडक त झन् नजिकै भइदिनाले र राजधानीबाट पनि सन्निकट भइदिनाले पनि यो ठाउँलाई पर्यटन विकास क्षेत्र बनाउन झन् सप्ठेरो हुन आउछ । घरेलु उद्योग (चाँगा बुनाई) घाटुनाच (संस्कृति झल्काउने) सुन्तला खेतीजस्ता महत्त्वपूर्ण व्यवसायबाट पनि यो ठाउँले पर्यटकको मन जित्न सक्दछ । यो ठाउँमा स्याउ–खेतीको प्रबल सम्भावना समेत देखिन्छ ।
६. पर्यटन विकासको आवश्यकता र अनिवार्यता
उल्लिखित आधार भएको यस्तो महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक र प्राकृतिक दृष्टिले भरिपूर्ण यस लेकलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा समेत सिद्धलेक पर्यटन विकास क्षेत्र को नामले चिनाई पर्यटकको धुइरो लगाउनुपर्ने हाम्रो आवश्यकता हो । यो आवश्यकतालाई पूरा गर्न यस भेगका तमाम व्यक्तिहरू, नेता, बुद्धिजीवी, साहू–महाजन, शिक्षक, कर्मचारी, किसान, ज्यामी एक भएर लाग्नुपर्ने हुन्छ । यसका अतिरिक्त सरकारी र गैर–सरकारी संस्थाहरू सँग जुझारू अनुरोध र सहयोगको अपेक्षा गर्नुपर्ने हुन्छ । यसरी यस वास्तविकतालाई बुझी यो पवित्र एवं आकर्षक भूमिलाई पर्यटन विकास गरी यस क्षेत्रको सौन्दर्यलाई विस्तार गर्न गराउन सके आर्थिक सामाजिक, साँकृतिक कुराहरूको विकास भई रोजगारीको अवसरमा वृद्धि हुने र यस क्षेत्रको उज्यालो रूप हुने कुरामा विश्वास राख्न सकिन्छ । यो क्षेत्र सम्पन्न र समृद्ध हुन सक्यो भने राष्ट्रलाई नै टेवा पुग्न सक्ने भएकोले यसको उन्नतिसँग राष्ट्रकै उन्तति जोडिएको छ । तसर्थ हामी यस भेगका मानिसले यथाशक्य, यथोचित प्रयत्न गर्नुपर्ने आवश्यकता छ, अनिवार्यता छ ।
Comments
Post a Comment