भाग – ५
सिद्धलेकलाई पर्यटन विकास क्षेत्रमा परिणत गर्न गराउनका लागि स्वदेशी एवं विदेशी दातृसंस्था वा व्यक्तिहरूमा सहयोगको अपेक्षा
अनुपम सौन्दर्यले भरिएको सिद्धलेक क्षेत्रलाई पर्यटन विकास क्षेत्रमा परिणत गर्न गराउन सहज र सरल छैन । यसको अपेक्षाकृत सुधार गरी विकास गराउन यस क्षेत्रमा करोडौँ धनराशि लगाउनुपर्ने हुन्छ । लाखौँ व्यक्तिको श्रमको आवश्यकता पर्दछ । हजारौँ बुद्धिजीवीहरूको बौद्धिकताको खाँचो पर्दछ र सयौँ व्यक्तिहरूसँग विवादमा अल्झिनुपर्ने हुन्छ । यस्तो खर्चालु, जटिल, एवं महत्त्वाकांक्षी काम गर्न सहज र सरल छैन । त्यसैले यस कामका निमित्त यही अनुसन्धानमूलक पुस्तकबाट समस्त स्वदेशी तथा विदेशी, सरकारी एवं गैरसरकारी संघ–संस्था, निकाय, व्यक्ति एवं विभिन्न खालका दातृ संस्थाहरूसँग आर्थिक एवं भौतिक सहयोग माग गरी यस क्षेत्रको पर्यटन विकासका पूर्वाधारहरूलाई विकासमा पुर्याउन अनुरोधपूर्ण आह्वान गरिन्छ । यसका अतिरिक्त यस भेकका समस्त बुद्धिजीवी एवं सज्जनहरूलाई पनि आर्थिक भौतिक र असमर्थ हुँदा नैतिक मात्र भए पनि सहयोग गरिदिन अनुरोध गरिन्छ ।
यस क्षेत्रलाई पर्यटन विकास क्षेत्रमा परिणत गराउन निम्न कार्यहरू गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । तसर्थ निम्न कार्यहरू गर्न उल्लिखित संघ–संस्थाहरूको ध्यानाकर्षण गराउन र सहयोग माग गर्न तत्काल गर्नुपर्ने कार्यहरूका निम्न विवरण प्रस्तुत गरिएको छ ।
१. मन्दिर (सिद्धबाबा) पुनर्निर्माण र सफाइको व्यवस्था मिलाई आकर्षक मूर्ति राख्ने, पुजारी र नित्यपूजाको व्यवस्था गर्न ।
२. सबैभन्दा अग्लो चुचुरो भएकाले त्यस क्षेत्रमा पिउने पानी समेतको व्यवस्था छैन । करिब १ कि. मि. भन्दा तलबाट पम्पसेट आदिद्वारा पानी तानेर ल्याई पानीको पर्याप्त व्यवस्था गर्न ।
३. आवश्यक स्थानमा वृक्षारोपण, जडीबुटी रोपण, बगैँचा निर्माण, पोखरी निर्माण, खेलकुद मैदान निर्माण, पुस्तकालय निर्माण आदि कार्य गर्न ।
४. अधुरो सडकमार्गलाई पूरा गरी गाडी र साइकल आदि पार्किङस्थल र हेलिप्याड निर्माण गर्न ।
५. मनोरञ्जनात्मक पार्कस्थल, पिकनिक स्थल र उपयुक्त होटेलहरूको व्यवस्था गर्न ।६. अन्य प्रकारका बजार व्यवस्थापन गर्नुका साथै पर्यटकीय प्राचीन वस्तुहरू सङ्कलन गरी सङ्ग्रहालय निर्माण गर्न ।
७. सिद्धलेकको ठूलो क्षेत्रफलमा अत्याक्रमण गर्न नदिन त्यस क्षेत्रको सार्वजनिक जग्गा नाप–नक्सा गरी सिद्धबाबाको नाममा दर्ता गर्न ।
८. सिद्धलेकमा जाने विभिन्न स्थानका महत्त्वपूर्ण आठवटा उल्लिखित नाका र बाटोहरूलाई सजिलो र आकर्षक हुनेगरी सिँढीवाल बाटो निर्माण गर्न ।
९. यस क्षेत्रको घनाजङ्गललाई बिस्तार गरी हावापानी सुहाउँदो जङ्गली जनावर तथा चराचुरुङ्गी राखी वन्यजन्तु आरक्षण केन्द्र स्थापना गर्न ।
१०. पुरातात्त्विक महत्त्वका वस्तुहरू खोज अनुसन्धान गरी सङ्कलन गर्दै भौगर्भिक जाँचपड्ताल गर्न ।
११. सिद्धबाबाको नाममा जग्गा छुट्याई सिमानामा तारबार एवं घेरा–पर्खाल बनाउन ।
१२. पर्यटन विकास क्षेत्रलाई राष्ट्रिय मान्यता दिलाउन ।
१३. सर्वत्र प्रचार–प्रसार गराउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन ।
१४. केबुलकार मार्ग निर्माण गर्न ।
१५. बाँकी थप खोज–अनुसन्धान जारी राख्न ।
उल्लिखित कार्य गर्न जुन संस्थाले जे र जति सहयोग गर्न सक्छ, सहयोग गर्न वा गर्ने वातावरण तयार गर्न सम्पूर्ण संघ–संस्था, सरकार, अरू निकाय र व्यक्तिहरूसँग अपेक्षा गरिएको छ । उल्लिखित कार्य हुन सकेमा यो स्थानले नेपालको गौरवलाई थप उचाइमा पुर्याउन, आर्थिक स्तर वृद्धि गर्न, स्थानीय बासिन्दाको आय आर्जन वृद्धि गरी रोजगारी दिलाउन सहयोग गर्नेछ ।
यो एक प्राकृतिक सौन्दर्यले भरिपुर्ण स्थान भएकाले यसको विकास गर्न असम्भव छैन । केही पर्यटकहरू आवत–जावत गर्ने गरेको यो स्थानमा हाल पर्यटकका लागि योग्य होटल तथा रेष्टुरेण्ट 'श्रीवन नेचर क्याम्प' यस क्षेत्रमा खोलिएको छ, जसलाई इन्टरनेटमा निम्न सङ्केतबाट हेर्न सकिन्छ । "www.shreeban.com.np"
यसैगरी अन्दाजी ५०० हेक्टरभन्दा बढी क्षेत्रफल भएको, १५०० मिटरभन्दा माथिको उचाइ भएको, बादल कुहिरो तथा तुवाँलो नलागेमा काठमाडौँको धरहरालगायत धेरै हिमाल र अन्य भू–भाग छर्लङ्ग देख्न सकिने, सिद्धबाबाको मन्दिर भएको, लालीगुराँस लगायतका जङ्गलद्वारा सुशोभित, प्राकृतिक सौन्दर्यले भरपुर यस लेकको नाप–नक्सा गरी यसको पुरै क्षेत्रलाई इन्टरनेटमा दर्ता गराई विश्वसामु प्रष्ट्याउन सके, यसका पूर्वाधारहरूलाई सामान्य सुधारको शुभारम्भ गरी सलाङ्घाटबाट अथवा बुङ्चुङबाट केबुलकारको व्यवस्था गर्न सके यो क्षेत्रको विकासले अग्रगति पाउनेछ ।
Comments
Post a Comment