भाग – १
श्री सिद्धेश्वर महादेव (सिद्धबाबा) को संक्षिप्त परिचय
क) उत्पत्ति
किंवदन्ती अनुसार परापूर्वकालमा भगवान् शिवले आफ्नो ससुराली हिमालय पर्वतबाट नव–दाम्पत्यपछि नयाँ जीवनसँगिनी पार्वतीलाई आफूप्रति सच्चाप्रेम भए–नभएको परीक्षण गर्न लुक्ने मनसाय गरी कहाँ जाने भन्ने सोचाइ हुँदा श्लेष्मान्तक वनमा वनविहार गर्न जाने निष्कर्ष निकाली हिमालय पर्वतबाट निस्कन लाग्दा सामुमा देखिने हालको सिद्धलेकको रमणीय डाँडामा बसौँ भन्ने ठानेर वायुवेगले आई त्यस डाँडामा विराजमान हुनुभयो। अत्यन्त मनोहर डाँडो जसको वरपर तथा दायाँ–बायाँ, तलतिर मानव बस्ती र आफूद्वारा संरक्षित प्राणीहरूको बसोबास देख्दा मुग्ध शिवजी केही समय वरपरको दृश्यावलोकन गरी बासको खोजीमा लाग्नुभयो । हाल सिद्धमन्दिरको दक्षिणतर्फको न्यानो पहराको ओडारमा बस्ने मनसाय लिई तल झर्दा खासै उचित स्थान एवं सुरक्षित बास नदेखेपछि सोही पहरामा आफ्नो त्रिशूल मच्चाई हान्दा पहरामा बस्नयोग्य गुफा त बन्यो, तर त्रिशूल बेसरी रोपिन पुगी तल बहेकी त्रिशुली नदीको सतहसम्म पुगेकाले त्रिशुलीको पानीलाई शोषण गरी पिउने पानीको समेत व्यवस्था हुनपुग्यो । जुन गुफामा आजकाल पनि ताँबोका सिक्कालाई श्री महादेवको सम्झना स्वरूप सही स्थान पहिल्याएर तल खसालिदिँदा खन्द्राङ–खुन्द्रङ गर्दै पहराको दुवैतिर ठोकिँदै केही छिनपछि छत्ल्याङ्ग आवाज सुनिन्छ । सो प्रकृयाबाट यो कुराको अनुमान गर्न सकिन्छ कि त्यो सिक्का त्रिशूलीको पानीमा नै पुगेको आवाज हुनु पर्दछ ।
यसरी रातको बास पहराको गुफामा आराम साथ बिताएपछि भोलिपल्ट बिहान हाल सिद्ध मन्दिर भएको डाँडामा सवार भई एकछिन चारैतिर हेर्दा आफूद्वारा रचित वरपरका सम्पूर्ण प्राणीहरूको मनोकामना सिद्ध गरिदिन यो सुन्दर एवं आनन्दमय डाँडामा सदाका लागि आफ्नो एक अंश 'सिद्धेश्वर महादेव' (सिद्धबाबा) त्यही ठाउँमा विराजित हुँदै आउनुभएको हो । एक अंश छाडी त्यहाँबाट श्लेष्मान्तक वनमा गई मृग रूप भई वनविहार गर्दै रहनुभयो भन्ने किंवदन्ती छ । यसरी नै सिद्धेश्वर महादेवको उत्पत्ति भएको हो भन्ने जनश्रुतिहरू पनि भेटिन्छन् ।
ख) हालका दुङ्गाका देवता (शिवमूर्ति) को स्थापना
अनुसन्धानका क्रममा आदरणीय गुरु श्री डिल्लीरमण शर्मा अर्यालसँगको भेटमा उहाँको भनाइ अनुसार वा उहाँले नलाङ आवृका हर्कसिंह गुरुङको भनाइलाई उद्धृत गर्दै भन्नुभए अनुसार सिद्धलेकमा जब श्रीमहादेवको अंश एवं अङ्ग सिद्धबाबा रहँदै बस्दै गर्ने क्रममा कार्य व्यस्तताका कारणले होला सिद्धबाबाको बसाइ यो ठाउँमा कमी हुँदै जान थाल्यो । फलस्वरूप यस भेगका मानिस वा अन्य प्राणीहरूले वहाँबाट पाइआएका सुविधामा पनि कमी भएको महसुस गरी सिद्धबाबालाई आफूहरूलाई पूर्ण समय दिन र कहिल्यै नछोड्न यहाँका मानिसहरूको आग्रह अनुसार सिद्धबाबाले भन्नुभयो– “म समय–समयमा आवश्यकता अनुसार प्राणी जगत्लाई मूर्तरूपको दर्शन त दिउँला, तर तिमीहरूले दैनिक मेरो पाउ प्रत्यक्ष रूपमा पुज्न नपाउने भएकाले म यही ढुंगामा आफ्नो दिव्य शक्ति छोडेर जाने गर्छु, त्यही ढुंगाको पूजा अर्चनाले नै मेरो पूजा अर्चना पूरा हुन्छ, किन भने सृष्टि नै मेरो घर हो र संसारका सारा जीव नै मेरो परिवार भएकाले म स्वयं एकै ठाउँमा रहन सक्दिनँ ।” यस्ता भनाइ गरेर भगवान् जानुभएपछि राजा जनकका पालामा तिनै तोकिएका ढुंगालाई श्री सिद्धेश्वर महादेव अथवा सिद्धबाबाको मान्यता दिई पूर्ण विश्वासका साथ पूजिँदै आएको हो भन्ने लोकविश्वास छ ।
ग) देवताको स्थान (मन्दिर निर्माण)
अनुसन्धानकै क्रममा त्यही भेगमा बस्ने श्री भीमबहादुर श्रेष्ठका अनुसार वि.सं.१७७२ मा भवानीशंकर श्रेष्ठ र बिले कुंवर नामका व्यक्तिहरूको आह्वानमा नलाङ र सलाङ भेगका मानिसहरूद्वारा मूर्तिको चारैतिर पर्खाल लगाई मन्दिर–आकार दिइएको हो भन्ने भनाइ छ । त्यसै बेलादेखि सम्पूर्ण पूर्णिमाका दिन र सम्पूर्ण पञ्चमीका दिन नित्य पूजा तोकी दैनिक पूजाकार्य छोडिएको भए तापनि इच्छुक भक्तजनहरू जहिलेसुकै पनि पूजा–अर्चना र दर्शन गर्ने गर्छन् । खास गरेर शिवरात्रि, मंसिर पूर्णिमा (धान्यपूर्णिमा), फागुपूर्णिमा आदि दिनहरूमा भने व्यापक मेला सहितको पूजा अर्चना गर्ने चलन चलाइएको हो । सिद्धलेकमा पानीको अभावका कारण श्रद्धालु भक्तजनहरूलाई पानी खुवाउन राजा जनकले सिद्धलेकको फेदी दलेनमा सुनको धारो निर्माण गराए भन्ने जनश्रुतिसमेत पाइन्छ ।
घ) मर्मत तथा सुधार
भवानीशंकर श्रेष्ठ र बिले कुँवरको निर्माणपश्चात् हालसम्म पटकपटक उक्त मन्दिरको मर्मत सुधार एवं थप निर्माण कार्य नलाङ र सलाङ दुवै तिरका भक्तजनहरूबाट हुँदै आएकाले हाल मन्दिर बाहिर तीनवटा पर्खाल सहितका पेटीहरूमा दुईतिर ठूला–ठूला ढुङ्गाहरू गाडेर ढोका निर्माण गरिएको छ । घण्टाहरूको व्यवस्था गरिएको छ साथै तल खीरभञ्याङ्गसम्म देवता स्थापना गरिएको छ । शिवजीको पहिलो बास भएको शिवनिर्मित पहरे गुफामुनि रहेको शिवलिङ्गमा पूजा गर्न जान असम्भव भएकाले भक्तहरू मन्दिर नजिकैको अर्को शिवलिङ्गमा र मन्दिर नजिकै रहेको भगवती पार्वतीको मूर्तिमा पूजा गर्दछन् । इत्यादि कार्य थप सुधार र मर्मतका हुन् तर यी कामहरू कहिले र क–कस्ले गरे भन्ने यथार्थ जानाकारी भने पाइएको छैन । तल भीरमा भएको शिवलिङ्ग (जहाँ जान सकिँदैन) लाई त्यस आसपासका मानिसले नाइटेढुङ्गा पनि भन्ने गर्दछन् ।
ङ) मन्दिर तथा देवताको हालको अवस्था
धार्मिक एवं ऐतिहासिक पृष्ठभूमि, अत्यन्त गौरवशाली एवं रोचक किंवदन्ती र जनविश्वासका आधारमा सिद्धबाबाको विविध कुरा जानकारीमा आए पनि मन्दिरमा छानो र गारो समेत लाग्न सकेको छैन तर ‘सिद्धबाबाको मन्दिरमा गारो र छानो लगाउन हुन्न’ भन्ने जन–विश्वासले पनि उक्त कार्य रोकिइरहेको पाइन्छ । त्यसैले प्राचीनकालका तहगत पर्खालद्वारा छेकिएको र दुईतिर ढोकाको आकार दिइएको भए तापनि अन्य व्यवस्था हुन सकेको छैन । मन्दिरदेखि करीब सय मिटर तल भीरमा रहेको शिव गुफा र शिवलिङ्ग भएको ठाउँमा सहजसँग जोसुकै जान, हेर्न र पूजा गर्नका निम्ति बाटो निर्माण हुन सकेको छैन । त्यस क्षेत्रका अन्य देवता र वरपरका दर्जनौँ प्राचीन देवी–देवताको मन्दिर निर्माण, नित्य पूजा व्यवस्थापन सफाइ आदि गर्न नसक्नाले बाहिरी गाउँमा र पूरै देशभर ती देवदेवीको परिचय एवं महिमा विस्तार हुन सकेको छैन तैपनि केही वर्ष यता पात्लेका महिला र जनसमुदायद्वारा मेलामा पानी बोकी जात्रालु एवं श्रद्धालुलाई खुवाउने कार्य चल्दै आएको छ ।
च) सिद्धबाबाको ऐतिहासिक महत्त्वका कथा र किंवदन्तीहरू
किंवदन्ती अनुसार श्री महादेव आफ्नो तेजांश सिद्धलेकमा छोडी श्लेष्मान्तक वनमा जानु भएको धेरै समयपछि पार्वतीले ध्यान दृष्टिले हेर्दा महादेवलाई फेला पारेपछि शिव–पार्वती कैलाशमा रहे । त्यसै बखत एक समय महादेवको तेजोमय वीर्य धारण गर्न मुस्किल हुँदा सहन नसकी पार्वती कैलाशबाट भागी मृगिणी बनी श्लेष्मान्तक वनमा गएपछि श्री महादेव पनि मृगरूप भई सोही वनमा गई आनन्दले रहन लाग्नुभयो । त्यसै क्रममा राम्रो जङ्गलको खोजीमा मृग मृगिणी (शिव–पार्वती) दुवै घुम्दै चर्दै यही सिद्धबाबा निवास सिद्धलेकमा आई उत्तरतर्फको सुन्दर जङ्गल जहाँ आरोग्य जडीबुटी सहितको चरन छ, यसै जङ्गलमा रहन लाग्नु भयो । राम्रा मीठा घाँस र महत्त्वपूर्ण जडीबुटी भएको लालीगुराँसको जङ्गल देखेर हिमाली अथवा लेकाली भाषा अनुसार जङ्गललाई पातल भनिने हुँदा त्यो जङ्गललाई पनि पातल भनी नाम दिनुभयो । जसमा पछि पातलको पछि ‘ए’ थपिएर पातले नाम रहन गयो र त्यस जङ्गलमुनिको बस्तीलाई समेत पातले वा पात्ले भनिन पुग्यो । श्री महादेव सिद्धबाबाको यस किसिमको रोचक कथा र राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहलाई राजा नरभूपाल शाहले पुरोहित नारायण अर्याल सहित व्रतबन्ध गर्न मैदीमा भगवती खड्ग–कालीको मन्दिरमा ल्याएका थिए । व्रतबन्धमा वनारसबाट विद्वान गुरु हर्षनाथ मिश्र आएर पृथ्वीनारायण शाहलाई मन्त्रदान गरेका थिए र देशान्तरको क्रममा श्री सिद्धबाबाको मन्दिरमा आई पूजा–अर्चना गर्दा श्री सिद्धबाबाको प्रत्यक्ष दर्शन मिलेको थियो भन्ने भनाई पनि सुनिन्छ । गोर्खाकी मनकामना, काठमाडौँका पशुपतिनाथ र धादिङका सिद्धेश्वर यी त्रिदेवदेवीबाट वरदान पाएकाले नै नवनेपाल निर्माणको महायज्ञ पूरा गर्न राष्ट्रनिर्माता सफल भए भन्ने जनश्रुति सुन्न पाइन्छ । सिद्धबाबाको विषयमा अत्यन्त सान्दर्भिक कथन पनि सुन्नमा आएको छ । त्यो के भने, गोरखाका गोरखनाथ, गोरखाकै मनकामना देवी, नुवाकोटकी भैरवी, काठमाडौँका पशुपतिनाथ, पलाञ्चोककी भगवती र धादिङका सिद्धेश्वर एवं भैरवी देवीहरूका आपसमा अत्यन्त सौहार्दता थियो रे ! जहाँ जसको रक्षा वा नाश जे गर्न परे पनि आपसी ऐक्यभाव हुन्थ्यो रे ! तसर्थ यिनीहरूको एक अर्का कहाँ बारम्बार आवतजावत भैरहन्थ्यो रे ! यस्तो भनाइसँगै पशुपतिनाथ र गोरखनाथद्वारा ‘सिद्ध’ भनेको मनको चाहना वा इच्छा सिद्धि गरिदिने देवता र ‘मनकामना’ भन्ने पनि मनोरथ पूरा गरिदिने देवी हुनाले यी दुवैको एकै नाम एकै कामलाई वैवाहिक सम्बन्धमा कायम गराई एकै ठाउँ गर्ने ध्येय लिई कुरा चलाएका र विवाह गराइदिएका भन्ने किंवदन्ती पनि छ । त्यस्तै अर्को भनाइ अनुसार सिद्धबाबाले जनइच्छा सिद्धि गरी सुखशान्ति दिलाउने भएकाले स्थानीय बासिन्दाहरूलाई भोज–भतेर र अन्य काममा आवश्यक भाँडा–वर्तन सिद्धगुफाबाट तयार गरिदिनुहुन्थ्यो, आवश्यक पैसा रचना गरिदिनुहुन्थ्यो । कालान्तरमा जुठो भाँडा बुझाएकाले सिद्धबाबा रिसाएर दिन छोडिएको हो भन्ने भनाइ छ । सिद्धबाबाद्वारा निर्मित माटाका सिक्काहरू अहिले पनि पात्ले भेगका मानिसहरू घाँस दाउराका निमित्त वा गोठालो जाँदा भेट्टाउने गर्दछन् । यो सिक्काका सम्बन्धमा अर्को भनाई पनि सुनिन्छ । यस स्थानमा उपत्यकाबाट नेवार जाति आई बस्ती बसालेपछि त्यो पैसा पाइने लेकलाई ढेवाको लेक भनिन पुग्यो किनकि नेवारी भाषामा ढेवा भनेको पैसा हो । प्रशस्त पैसा पाइने भएकाले त्यसको नाम ढेवालेक हुन पुगेको हो । यो कुरो त्यहाँका वयोवृद्ध व्यक्ति भीम ब. श्रेष्ठ बताउँछन् ।
यसैगरी सिद्धबाबाले आफ्ना धेरै सहयोगी बाबाहरूलाई तयार गरी सिद्धलेकभन्दा तल डाँडामा कुटी बनाई राखिदिनुभएको र जसको कारण त्यो कुटी भएको डाँडालाई अहिले पनि ‘कुटीडाँडा’ भनिन्छ। तिनै सिद्धबाबाका अनुयायी जो सिद्धकुटीमा बस्थे तिनकै सन्तानका रूपमा अहिले पनि त्यही पात्ले भेगमा योगी उपनामका व्यक्तिहरूको गाउँ नै छ । तर प्रमाणिक वंशावली भने भेट्न सकिएको छैन । अहिले यस्ता किंवदन्तीहरू र जनश्रुतिहरू प्रशस्त सुन्न पाउँदा यसको महत्त्व भने बढ्दै गएको छ ।
सिद्धबाबाको गुफामा अर्को अलौकिक दृश्य के देख्न पाइन्छ भने शिवगुफाबाट राता, नीला, पहेँला, हरिया र विविध रङ्गका चराहरू दिनहुँ निस्कने गर्दछन् । कहिल्यै नदेखेका, नाम थाहा नभएका सयौँ चराहरूका बथान भुरुरु निस्केको दृश्य चमत्कारपूर्ण नै लाग्छ । आश्चर्यको कुरा चाहिँ के छ भने चराहरू निस्कन्छन् मात्र तर गुफामा पसेका देखिँदैनन् । पूजा गर्न जाँदा र गुफाभित्र भेटी चढाउन जाँदा कुनै बेला गुफाको माथितिर उड्ने वा चीँ–चीँ बच्चा कराउने र भ्याट्–भ्याट् आवाज प्रशस्त मात्रामा सुनिन्छ । यसका अतिरिक्त सिद्धबाबाको सेवा र सहयोगका निमित्त अनेकौँ देवदेवीले घेरा हालेर बसेका छन् । पात्लेकालिका, मनकामना, अकलादेवी, कालीदेवी, जलदेवी र आवृ चतुरामाई आदि देवदेवताले घेरा दिएर सिद्धबाबालाई थप शोभा प्रदान गरेका छन् । पीपल नलाङकी बलदेवी पनि सिद्धबाबाको निकट सहयोगी देवी मानिन्छिन् ।
त्यस्तै पात्ले भुङ्कोसे भन्ने स्थानमा अरू धेरै हेर्न लायक शिव गुफाहरू छन् । एउटा गुफा देवीस्थानमा पनि छ । पहिला देवी स्थानमा बलि दिन लागेको एक कुखुरा बलि दिन नभ्याउँदै देवीस्थान गुफामा पसी हराउँदा भोलिपल्ट भण्डै १ किलो मिटर टाढा भुङ्कोसे गुफाबाट निस्केको थियो । यी गुफामा सफाइ गर्न, गुफा सड्ख्या पत्ता लगाउन, कुन गुफामा कुन देवता रहन्छन् वा सबै प्राकृतिक गुफामात्र हुन् ? छुट्टाउने काम बाँकी र महत्त्वपूर्ण मानिएको छ ।
Comments
Post a Comment